काठमाडौँ। कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै तारामण्डल महिला सशक्तिकरण अभियानले ललितपुर महानगरपालिकालाई ज्वरो नाप्ने उपकरण (थर्मल गन) सहयोग गरेको छ।
तारामण्डलकी अध्यक्ष कुन्ती पोखरेलको नेतृत्वमा बिहीबार ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलाई ३० थान थर्मल गन हस्तान्तरण गरिएको हो। महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, कार्यकारी प्रमुख प्रेम प्रसाद भट्टराई, वडा अध्यक्षहरू लगायतको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो।
‘कोरोनाको सन्त्रास विश्वमा छाएको छ। यसलाई जित्न हामी सबै हातेमालो गरेर अघि बढ्नुपर्छ, अन्यथा कोरोनाले हामीमाथि विजय प्राप्त गर्नेछ, तसर्थ यसलाई परास्त गर्न हामी सबै एकजुट हौ।’ संस्थाकी अध्यक्ष कुन्ती पोखरेलले भनिन्।
सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै महानगर प्रमुख चरीबाबु महर्जनले तारामण्डललाई धन्यवाद दिँदै भने ‘लकडाउन सकिए लगत्तै एस. इ.इ परीक्षा हुनेवाला छ । हामीकहाँ ४२ वटा परीक्षा केन्द्र छन् । त्यसको लागि हामीलाई उपकरणको कमी भइरहेको थियो । उहाँहरूले सहयोग गर्नुभएकोमा एकदमै धन्यवाद दिन चाहान्छौं ।’
संस्थाले यसअघि पनि थुप्रै सामाजिक कार्य गर्दै आएको छ । कोरोना महामारी सङ्क्रमण तथा नियन्त्रणमा संस्थाले आहम भूमिका निर्वाह गर्दै यस अघि काठमाडौँ महानगरपालिका सहित बुढानीलकण्ठ, कीर्तिपुर तथा टोखा नगरपालिकाका अति विपन्न, असहाय र मजदुर परिवारलाई राहत वितरण गरेको छ ।
यसका अतिरिक्त संस्थाले काठमाडौँ वडा न. ९ का २६० परिवार सहित सरकारी होस्टेलका विद्यार्थी, भाडामा बसेर पढ्दै गरेका विद्यार्थी, बाल आश्रम र पशुपति क्षेत्रमा भएका गरिब , विपन्न परिवारलाई राहत सामग्री वितरण गरिसकेको छ । संस्थाले गत वैशाख ११ गते रक्तदानका कार्यक्रम पनि आयोजना गरेको थियो जसमा ६६ जनाले रक्तदान समेत गरेका छन् । आगामी दिनमा पनि सहयोगको प्रक्रियालाई निरन्तरता दिने संस्थाकी अध्यक्ष पोखरेलले जानकारी दिइन् । ललितपुर महानगरले सहयोगको प्रशंसा गर्दै धन्यवाद पत्र समेत प्रदान गरेको छ ।